लुम्बिनीमा सत्ता समीकरण फेरियो: कांग्रेस प्रतिपक्षमा


बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरंग पैदा भएको छ। प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका छन्।

सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा नयाँ सहकार्य गर्ने सहमति बनेसँगै कांग्रेसले सरकार छाड्ने निर्णय गरेको हो। राजीनामा बुझाउने मन्त्रीहरूमा धनेन्द्र कार्की – आर्थिक मामिला मन्त्री, सरोज थापा – सहरी विकास तथा खानेपानी मन्त्री, प्रचण्डविक्रम न्यौपाने – उद्योग, पर्यटन तथा यातायात मन्त्री, जन्मजय तिमिल्सिना – सामाजिक विकास मन्त्री र देवकरण कलवार – वन तथा वातावरण मन्त्री छन्।

मन्त्रीहरूले आइतबार नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा पत्र बुझाएका हुन्। सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलका नेता चौधरीलाई राजीनामा बुझाइएको पुष्टि गरेका छन्।

यसअघि लुम्बिनी प्रदेशमा एमाले र कांग्रेसबीचको गठबन्धनमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार सञ्चालन हुँदै आएको थियो। तर, सत्ता साझेदार एमालेले नेकपासँग नयाँ राजनीतिक सहमति गरेपछि कांग्रेसले सरकार छाडेर प्रतिपक्षमा बस्ने रणनीति बनाएको छ।

अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री आचार्यलाई राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत औपचारिक रूपमा फिर्ता लिने तयारी गरेको छ। यो कदमसँगै लुम्बिनी प्रदेश सरकारको सत्ता समीकरण पूर्णरूपमा फेरिने निश्चित भएको छ।