ओलीले शिलान्यास गरेको शिलालेख जेन्जी आन्दोलनमा नष्ट भएको पुष्टि, कसरी पुग्यो नागढुङ्गाबाट बबरमहल?


काठमाडौं, साउन १० । थानकोट-नागढुङ्गा सुरुङमार्गको शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भन्दै एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा आपत्ति जनाएका छन्। उनले शिलालेखबाट नाम मेटिए पनि इतिहास नमेटिने उल्लेख गर्दै यसलाई पूर्वाग्रह र प्रतिशोधको राजनीति भनेका छन्।

समाचारको कुनै स्रोत उल्लेख नगरिकन पोखरेलले यस कार्यको भर्त्सना गरेका छन् । उनी भन्छन्, ‘शिलालेखबाट नाम मेटिएला, तर इतिहास मेटिँदैन !’ सुरुङमार्गको शिलान्यास शिलालेखबाट केपी ओलीको नाम हटाइनु सरकारको निकृष्ट पूर्वाग्रह र प्रतिशोधको राजनीति भएको टिप्पणी पोखरेलले गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ कात्तिक ४ गते थानकोट क्षेत्रमा सुरुङमार्गको शिलान्यास गरेका थिए। निर्माण कार्य अघि बढ्दै जाँदा शिलालेखलाई क्षति हुन नदिन निर्माणस्थलबाट हटाएर सडक विभागको बबरमहलस्थित वैदेशिक महाशाखा कार्यालयमा राखिएको थियो।

आयोजनाका उप-आयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार शिलालेख कुनै राजनीतिक निर्णयका कारण हटाइएको होइन। पछि जेनजी आन्दोलनका क्रममा उक्त कार्यालयमा ठूलो क्षति पुग्दा शिलालेख रहेको संरचना पनि ध्वस्त भएको थियो। हाल शिलान्यास ढुंगा भवनको भग्नावशेष र माटोमुनि पुरिएको अवस्थामा रहेको बताइएको छ।

सडक विभागका अधिकारीहरूले पनि शिलालेख निर्माणस्थलबाट सुरक्षित राख्नका लागि सारिएको र आन्दोलनका क्रममा क्षति पुगेको पुष्टि गरेका छन्। भग्नावशेष पूर्ण रूपमा हटाएपछि शिलालेखको अवस्था यकिन हुने र सुरक्षित भेटिए पुनःस्थापना गरिने आयोजनाको भनाइ छ। यदि फेला नपरेमा वा प्रयोगयोग्य अवस्थामा नभेटिएमा सरकारको निर्णयअनुसार आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ।