लुम्बिनी, ११ साउन । प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका अग्रज पत्रकार ज्ञवालीको उपचारको क्रममा गएराति काठमाडौँमा निधन भएको छोरा सागर ज्ञवालीले जानकारी दिए ।
रुपन्देही शङ्करनगरका स्थायी बासिन्दा ८० वर्षीय पत्रकार ज्ञवाली पछिल्लो समय मुटु र फोक्सोमा समस्या देखिएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा भर्ना भएको थियो । उनले लामो समयसम्म शिक्षण पेशामा आबद्ध रहेका ज्ञवालीले विसं २०२४ देखि पत्रकारिता यात्रा सुरु गरेको थियो । सरल भाषामा राष्ट्रियता र देशभक्तिको पक्षमा कलम चलाउने ज्ञवालीका लेख–रचना तथा विचार पाठकको रोजाइमा पर्दै आएका थिए । उनले लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक र पत्रकारिताको प्रशिक्षक भएर काम गरे ।
नेपाल पत्रकार महासङ्घबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान, पत्रकार महासङ्घको रुपन्देहीबाट उत्कृष्ट पत्रकारिता पुरस्कार र नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मानबाट उनी सम्मानित थिए । गोपालगोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मानबाट पत्रकार ज्ञवाली विभूषित थिए । उनको श्रीमती, एक छोरी र दुई छोरा छन् । रासस




प्रतिक्रिया