शेयर बजारमा मन्दी: वाणिज्य बैंक र म्युचुअल फण्डबाहेक सबै समूह राताम्मे


काठमाडौ । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ।

नेप्से परिसूचक ३३.२८ अंकले घटेर २ हजार ७०१.३२ विन्दुमा कायम भएको हो। आज ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा समेत गिरावट आएको छ। बजारमा ३६० कम्पनीका सेयर कारोबार हुँदा ३६ कम्पनीका सेयरमूल्य मात्रै बढेका छन् भने २३४ कम्पनीका सेयरमूल्य घटेका छन्। पाँच कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।

सोमबार कुल १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर ६९ हजार ८०३ कारोबारमार्फत किनबेच भएका छन्। कुल कारोबार रकम ६ अर्ब ८ करोड ८६ हजार रुपैयाँ पुगेको छ। कारोबार भएको सेयर कित्ता शुक्रबारको तुलनामा १.१३ प्रतिशतले बढेको हो।

शुक्रबार १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर कारोबार भएको थियो। तर कारोबार रकम भने शुक्रबारको तुलनामा २.९७ प्रतिशतले घटेको छ। समूहगत परिसूचकतर्फ वाणिज्य बैंक र म्युचुअल फण्ड समूहबाहेक अधिकांश समूह राताम्मे भएका छन्।

विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचक घटेका छन्। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.३० प्रतिशतले घटेको छ। यस्तै व्यापार समूह २.२३ प्रतिशत र होटल तथा पर्यटन समूह २.२२ प्रतिशतले घटेका छन्।

सोमबार एभरेष्ट कलर लिमिटेड, गरिमा समृद्धि योजना, सानिमा बैंकको डिबेञ्चर, गोर्खाज फाइनान्स तथा एनआईएमबी डिबेञ्चरका लगानीकर्ताले बढी कमाएका छन्। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल बैंक डिबेञ्चर, सेञ्चुरी डिबेञ्चर तथा एनएमबी डिबेञ्चरका लगानीकर्ताले भने बढी गुमाएका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। कम्पनीको ३३ करोड ८६ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, कारोबार भएको शेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ। बैंकको १० लाख ८९ हजार २३१ कित्ता शेयर किनबेच भएको छ।