सुनसरी । देवानगञ्जमा भएको साम्प्रदायिक झडप र त्यसपछि सिर्जित तनावग्रस्त परिस्थितिलाई सामान्य बनाउन जिल्लाका सरोकारवालाहरूले पहलकदमी बढाएका छन्। घटनापछि बिग्रँदो शान्तिसुरक्षा र सामाजिक सद्भावलाई पुनः पुरानै लयमा फर्काउन इनरुवामा आयोजित सर्वपक्षीय बैठकले संयम अपनाउँदै एकीकृत रूपमा अघि बढ्ने सहमति गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय अगूवाहरूको उपस्थिति रहेको थियो। बैठकले संवेदनशील बन्दै गएको स्थानीय वातावरणलाई थप बिग्रन नदिन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको छ।
घटनाको पृष्ठभूमि र वास्तविक कारण पहिल्याउन गृहमन्त्रालयले सोमबार नै पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। सर्वपक्षीय बैठकले उक्त समितिलाई निष्पक्ष र प्रभावकारी अनुसन्धानका लागि स्थानीय स्तरबाट पूर्ण सहयोग पुर्याउने निर्णय गरेको छ।
यसैबीच, स्थानीय प्रशासनले द्वन्द्व बढाउने खालका अफवाह र अवाञ्छित गतिविधिमाथि कडा निगरानी राखिने जनाएको छ। सर्वपक्षीय छलफलसँगै स्थानीय तहमा शान्ति र आपसी विश्वास फर्काउने साझा प्रयास शुरु भएकाले स्थिति क्रमशः सामान्यतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया