बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै


नेपालगञ्ज, ११ साउन । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् ।

यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका कारण बन्द भएको अत्याधुनिक भेरी मिट सप एण्ड कोल्ड स्टोरले पुनः सञ्चालनको तयारी गरिरहेको छ । करिब पाँच करोडभन्दा बढी लगानीमा स्थापना गरिएको सो मिट सप डल्फिन ग्रुपले २०७९ सालमा नेपालगञ्जमा स्थापना गरेको थियो । पछिल्लो समय सीमावर्ती नाकामा अवैध रूपमा आयात हुने मासुजन्य पद्धार्थ नियन्त्रणका प्रयास प्रभावकारी बन्दै गएपछि उद्योगी र कृषकमा नयाँ आशा पलाएको व्यवसायीले बताएका छन् ।

डल्फिन ग्रुपका कार्यकारी निर्देशक तीर्थ थापाले उद्योग पुनःसञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सरकारले सीमा क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणतर्फ देखाएको सक्रियताले स्वदेशी उद्योग र कृषकलाई सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले भने, “हामीले नयाँ जोश र उत्साहका साथ बन्द भएको उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरेका छौँ । सञ्चालनको तयारी भइरहेकाले शीघ्र उपभोक्ताको भान्सासम्म गुणस्तरीय, सुरक्षित र स्वच्छ मासु पु¥याइने छौँ ।”

थापाका अनुसार अवैध बोइलर कुखुराको आयात पूर्ण रूपमा नरोकिए पनि विगतको तुलनामा उल्लेखनीय रूपमा घटेको छ । यसले स्वदेशी उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न सहज वातावरण बन्ने अपेक्षा गरिएको उनले बताए ।

उक्त कोल्ड स्टोर सञ्चालनमा रहँदा आधुनिक प्रशोधन प्रणाली, ‘कोल्ड चेन’ तथा स्वच्छ उत्पादन प्रक्रियाका कारण छोटो समयमा उपभोक्ताको विश्वास जित्न सफल भएको थियो । सीमाबाट सस्तो मूल्यमा अवैध रूपमा भित्रिने बोइलर कुखुराले बजारमा प्रभुत्व जमाएपछि स्वदेशी उत्पादन प्रतिस्पर्धामा टिक्न नसक्दा उद्योग बन्द भएको थियो ।

उद्योग बन्द भएसँगै यहाँ प्रत्यक्ष रूपमा कार्यरत १०० जना श्रमिकले रोजगारी गुमाएका थिए भने बोइलर कुखुरापालक किसानले आफ्नो उत्पादनको नियमित बजार गुमाउनुपरेको थियो । यसका साथै स्थानीय पोल्ट्री व्यवसाय, दाना उद्योग, ढुवानी तथा अन्य सहायक व्यवसायसमेत प्रभावित भएका उनको भनाइ छ ।

डल्फिन ग्रुपका अनुसार कोल्ड स्टोर उद्योगमा अन्तरराष्ट्रिय मापदण्ड अनुसारका अत्याधुनिक उपकरण जडान गरिने छ । “हाम्रो उद्देश्य केवल मासु बिक्री गर्नु होइन । उपभोक्तालाई सुरक्षित, स्वस्थ र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउनु हो । आधुनिक प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता छ”, थापाले भने ।

यसअघि, उद्योग सञ्चालनमा रहँदा यहाँ प्रशोधन गरिएको मासु नेपालगञ्जसहित बाँके जिल्लाभरि, बर्दिया, दाङ, सुर्खेतलगायत जिल्लामा लोकप्रिय बनेको थियो । स्वच्छ प्याकेजिङ, गुणस्तर र स्वादका कारण धेरै उपभोक्ताले यसलाई पहिलो रोजाइ बनाउने गरेका थापाको विश्वास छ । उद्योग पुनःसञ्चालनमा आएपछि बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत जिल्लाका हजारौँ बोइलर कुखुरापालक किसानले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको उनले बताए । रासस