अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन: स्वास्थ्य सेवा बन्द नगर्नू, दोषीलाई कारबाही हुँदै छ


काठमाडौं, साउन १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि अवस्थामा स्वास्थ्य सेवा बन्द नगर्न देशभरिका अस्पताललाई निर्देशन दिएको छ।

नारायणी अस्पतालमा चिकित्सकविरुद्ध गरिएको आक्रमणपछि आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने तयारी गरेपछि मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीविरुद्ध आक्रमणमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाविरुद्ध भएका हमलाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ।

नारायणी अस्पतालमा चिकित्सकविरुद्ध गरिएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाउनुका साथै ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।

मन्त्री मेहताले दोषीविरुद्ध कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन निरन्तर पहल गरिरहेको मन्त्रालयले जनाएको छ।