वीरगन्ज । मधेशको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल पुनः एकपटक अशान्त बनेको छ। चिकित्सकमाथि भएको कुटपिट, अस्पतालमा तोडफोड र त्यसपछिको प्रशासनिक व्यवहारलाई लिएर रुष्ट बनेका नारायणीका चिकित्सकहरू सामूहिक राजीनामाको बाटो रोज्न बाध्य भएका छन्।
प्रशासनिक नेतृत्व (प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख) ले आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले दुवै अधिकारीको राजीनामालाई मुख्य शर्त बनाएका छन्।
घटनाक्रम अनुसार, करिब ७० जना चिकित्सक कार्यरत नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको छ।
अस्पतालका डा. उदयनारायण सिंहका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहमा आकस्मिक सेवा सञ्चालन गर्न चिकित्सकहरू सकारात्मक बनेका थिए। आक्रमणकारीलाई कारबाही गर्ने आश्वासनपछि वार्ताका लागि जिल्ला प्रशासन कार्यालय पुगेका चिकित्सक र प्रशासनबीचको संवाद भने झन् तनावपूर्ण बन्न पुग्यो।
“वार्ताका क्रममा नेपाल चिकित्सक संघका प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा के राखेका थिए, वातावरण नै बदलियो,” डा. सिंहले भने, “त्यसपछि सीडीओ र एसपीले चिकित्सकहरूमाथि अपशब्द प्रयोग गर्दै प्रहरी परिचालन गरेर नियन्त्रणमा लिए।”
प्रशासनले आफूहरूको मोबाइलसमेत खोसेर करिब एक घण्टा नियन्त्रणमा राखेको चिकित्सकहरूको आरोप छ। सुरक्षाको प्रत्याभूति हुनुपर्ने ठाउँमा उल्टै प्रशासनिक दबाब र दुर्व्यवहार सहनुपरेपछि सुरक्षित वातावरणमा काम गर्न नसकिने निष्कर्ष निकाल्दै सामूहिक राजीनामा दिइएको उनीहरूको भनाइ छ।
गत साउन ८ गते डा. प्रमोद राममाथि भएको कुटपिट र तोडफोडको घटनापछि सुरु भएको यो आन्दोलनले अहिले उग्र रूप लिएको छ। घाइते डा. रामको हाल काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
यसैबीच, नेपाल चिकित्सक संघले पनि प्रशासनिक रवैयाको कडा प्रतिवाद गरेको छ। संघले मंगलबार देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरिसकेको छ। दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही नगरिएसम्म र सीडीओ तथा एसपी नहटाइएसम्म काममा नफर्किने अडान चिकित्सकहरूको छ।




प्रतिक्रिया