चितवन, १२ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ खहरे खोलामा आज बिहान ८ः३० बजे सुक्खा पहिरो खसेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएसँगै अहिले १ः१५ बजेबाट दुईतर्फी सवारी सञ्चालन गरिएको छ ।
यसअघि ११ः१५ बजे नै सडक एकतर्फी खुलाएर एम्बुलेन्स र मोटरसाइकल पार गराइएको थियो । पहिरो पन्छाउनका नारायणगढबाट लोडर, स्काभेटर र व्याक हु तथा मुग्लिनबाट पनि लोडर प्रयोग गरिएको थियो । त्यो ठाउँमा ४० मिटर माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेको थियो ।
पहिरो पन्छाएसँगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढिसकेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया