देवानगञ्ज झडप: गृहको छानबिन टोली घटनास्थलमा


इनरुवा। सुनसरीको देवानगञ्जमा प्रहरी र स्थानीयबिच भएको हिंस्रक झडपमा परी एक जनाको मृत्यु र २४ जना घाइते भएको घट्नापछि गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।

मंगलबारदेखि कार्यक्षेत्रमा खटिएको सो ५ सदस्यीय छानबिन समितिले घटनाको पृष्ठभूमि, वस्तुस्थिति र सुरक्षा निकायको भूमिकाबारे सूक्ष्म अध्ययन थालेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित छानबिन समितिले मंगलबारदेखि नै आफ्नो काम अघि बढाएको हो। टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै घटनाका प्रत्यक्षदर्शी र घाइतेहरूसँग प्रत्यक्ष कुराकानी थालेको छ।

टोलीले विराटनगरका विभिन्न अस्पतालहरूमा पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने कदमबारे समितिले गृह मन्त्रालयलाई प्रतिवेदन बुझाउनेछ।

छानबिन टोली घटनास्थल पुगे पनि स्थानीय अवस्था भने सहज हुन सकेको छैन। देवानगञ्ज घटनाको विरोधमा उत्रिएको रुष्ट समूहका कारण कोशी कटान क्षेत्र थप तनावग्रस्त बनेको छ।

प्रदर्शनकारीहरूले सर्वसाधारणका पसलहरूमा लुटपाट, तोडफोड र आगजनी गरेपछि स्थिति झनै भयावह बनेको छ। स्थिति नियन्त्रणमा लिन र थप अप्रिय घटना हुन नदिन ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मीहरू सो क्षेत्रमा तैनाथ गरिएका छन्। स्थानीय प्रशासन र प्रहरीको उपस्थितिबिच पनि आक्रोशित समूहले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। प्रशासनले सर्वसाधारणलाई संयम अपनाउन आग्रह गरेको छ भने शान्ति-सुरक्षा कायम गर्न सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ।