सभामुख-आङ्देम्बे भेट: शान्ति-सुरक्षा र जनजीविकाका मुद्दामा छलफल


काठमाडौँ। मुलुकभित्र विकसित पछिल्ला राजनीतिक तथा सामाजिक घटनाक्रमका बिच सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबिच मंगलबार सिंहदरबारमा महत्त्वपूर्ण भेटवार्ता भएको छ।

सभामुखको कार्यकक्षमा भएको उक्त भेटमा संसद्को आगामी भूमिका, शान्ति-सुरक्षाको अवस्था र जनसरोकारका विषयमा गहन छलफल भएको छ। भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति सभामुखको गम्भीर ध्यानाकर्षण गराएका छन्। शान्ति-सुरक्षाको स्थिति नाजुक बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले मुलुकमा अमनचयन कायम गर्न सरकारलाई संसद्मार्फत प्रभावकारी कदम चाल्न निर्देशन दिनुपर्ने आवश्यकता औँल्याए।

हालै पाँचथरसहित देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण नागरिकले भोग्नुपरेको समस्याबारे पनि भेटमा छलफल भएको थियो। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तुरुन्त उद्धार, राहत वितरण र पुनर्स्थापनाका कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने र यसका लागि संसद्ले पनि विशेष चनाखो भई सहजीकरण गर्नुपर्ने धारणा नेता आङ्देम्बेले राखेका थिए।

नारायणी अस्पतालका चिकित्सकमाथि भएको दुर्व्यवहार र त्यसपछि सिर्जित स्वास्थ्यकर्मीको आन्दोलनप्रति प्रतिपक्षी दलले सभामुखको ध्यानाकर्षण गराएको छ।