काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष एवम् चर्चित पत्रकार ऋषि धमला लघुवित्त पीडितहरूको माग सम्बोधन गराउन आफैँ सडकमा ओर्लिएका छन्। काठमाडौँको माइतीघर मण्डलामा जारी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै धमलाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई पीडितका माग तत्काल पूरा गर्न कडा चेतावनी दिएका छन्।
मंगलबार माइतीघर पुगेर आन्दोलनकारीलाई सम्बोधन गर्दै धमलाले लघुवित्तका सञ्चालकहरूले सर्वसाधारण जनतालाई ऋणको पासोमा पारेर मोजमस्ती गरिरहेको आरोप लगाए। पीडितहरूले कुनै ठूलो वा असम्भव माग नराखेको उल्लेख गर्दै उनले विगतमा भएका सहमति र हिजोका मागहरू अविलम्ब कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
‘प्रधानमन्त्री बालेनजी ! यी दुःखी र सोझा जनतालाई न्याय दिनुस्,’ आन्दोलनकारीको बीचबाटै धमलाले भने, ‘लघुवित्त सञ्चालकहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ। आज ऋषि धमला यी पीडितहरूको हकअधिकारका लागि आफैँ सडकमा आएको छ। जबसम्म माग पूरा हुँदैन, तबसम्म धमला तपाईँहरूकै साथमा रहन्छ, माइतीघर छाडेर कतै जाँदैन।’
लघुवित्तपीडिहरुको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा पनि धमलाले जोड दिएका छन् । पीडितहरूलाई कुनै पनि हालतमा हिम्मत नहार्न आग्रह गर्दै धमलाले जसरी पनि न्याय दिलाएरै छाड्ने प्रतिबद्धता जनाए। सो क्रममा धमलाले गृहमन्त्री सुधन गुरुङलाई पनि माइतीघरमै आएर पीडितहरूसँग वार्ता गर्न र अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पनि समस्याको दीर्घकालीन समाधान खोज्न आह्वान गरे।
आन्दोलनस्थलमा धमला पुगेपछि पीडितहरूले उनको समर्थनमा चर्को नाराबाजी गरेका थिए। धमलाले माग पूरा नभएसम्म आन्दोलन जारी राख्न र माइतीघर नछाड्न पीडितहरूलाई आग्रह गरेका छन्।




प्रतिक्रिया