काठमाडौँ । नेपाली राजनीतिमा निरन्तर क्रियाशील र लोकतान्त्रिक आन्दोलनका निष्ठावान् पात्र, नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको मंगलबार दिउँसो काठमाडौँको कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको छ।
प्याङ्क्रियाजको क्यान्सरबाट लामो समयदेखि ग्रसित ७६ वर्षीय श्रेष्ठको स्वास्थ्य अवस्था पछिल्ला महिनाहरूमा गम्भीर बन्दै गएको थियो। गत वर्ष नर्भिक र धुलिखेल अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल पुर्याइएको थियो, जहाँ क्यान्सरको ‘किमोथेरापी’ गराएर उनी स्वदेश फर्किएका थिए। तर, उपचारपछि पनि उनको स्वास्थ्य सुध्रिन सकेन र उनी निरन्तर थलिँदै गएका थिए।
नेपाली कांग्रेसको संगठनमा तल्लो तहदेखि शीर्ष तहसम्म पुगेका श्रेष्ठले पार्टीको कार्यवाहक सभापति, उपसभापति तथा विभिन्न मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए। विशेष गरी वि.सं. २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा जब तत्कालीन ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’का सभापति शेरबहादुर देउवा जेलमा थिए, तब पार्टीको कार्यवाहक सभापतिको काँध श्रेष्ठकै काँधमा आइपरेको थियो। निरंकुशताविरुद्ध आन्दोलनको मोर्चा सम्हाल्दै उनले पार्टी संगठनलाई एकढिक्का राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
पार्टीभित्र सादगी, भद्र र सीधा वक्ताका रूपमा चिनिने श्रेष्ठ पछिल्लो समय राजनीतिको मूलधारबाट केही ओझेल परेझैँ देखिए पनि उनको अभिव्यक्ति र उपस्थिति सधैँ प्रभावशाली रहन्थ्यो। गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनका क्रममा भृकुटीमण्डपमा उनले दिएको स्पष्ट र कडा भाषण राजनीतिक वृत्तमा निकै चर्चित बनेको थियो। पार्टीमा लामो योगदान दिएका पुराना नेता श्रेष्ठलाई हालै नेपाली कांग्रेसका सभापति गगन थापाले ‘वरिष्ठ नेता’ बनाउने सार्वजनिक घोषणा गरेका थिए। केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक अनुमोदन गराएर उनलाई यो मर्यादा दिने तयारी भइरहेको थियो। तर, पार्टी बैठक बसेर उक्त निर्णयलाई औपचारिक रूप दिनुअघि नै श्रेष्ठले सधैँका लागि बिदा लिएका छन्।




प्रतिक्रिया