काठमाडौँ । मुलुक गम्भीर र संवेदनशील मोडबाट गुज्रिरहेका बेला राजनीतिक दलहरूबीच संवाद, सहमति र सामाजिक सद्भाव कायम हुनुपर्नेमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष जोड दिएका छन्। सुनसरीमा घटेको पछिल्लो घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले वर्तमान अवस्थामा सरकारले अभिभावकीय भूमिका खेल्नुपर्ने बताएका हुन्।
सर्वदलीय बैठकपछि धारणा राख्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, “विगतमा भूकम्प, बाढी-पहिरो जस्ता प्राकृतिक विपद्का बेला होस् या संविधान निर्माणजस्तो जटिल राजनीतिक प्रक्रियामा नै किन नहोस्, दलहरूले उच्च राजनीतिक परिपक्वता र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थिए। आज पनि मुलुकलाई निकास दिन त्यस्तै जिम्मेवारी र संवादको खाँचो छ।”
प्रचण्डले राष्ट्रिय महत्व र संवेदनशीलताका विषयमा सरकारले सबै दललाई साथमा लिएर साझा समाधान खोज्न पर्याप्त अग्रसरता नदेखाएको भन्दै असन्तुष्टिसमेत जनाए। सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील हुनुपर्ने औँल्याउँदै उनले प्रधानमन्त्रीलाई तत्काल सर्वदलीय संवादको वातावरण बनाउन आग्रह गरे।
“बल प्रयोग गरेर कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन,” प्रचण्डको भनाइ थियो, “राजनीतिक तिक्तता बढाउने समय यो होइन। संवाद, सहमति र राजनीतिक समझदारीका माध्यमबाटै परिस्थितिलाई सहज बनाउन सकिन्छ।”
यस्तै, उनले सुनसरी घटनाका सन्दर्भमा निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सरकारसँग जोडदार माग गरेका छन्।




प्रतिक्रिया