काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक झडप र त्यसक्रममा प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएको घटनालाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको कडा आलोचना गरेको छ। राप्रपा सांसद खुश्वु ओलीले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त घटनाको सम्पूर्ण सत्यतथ्य सार्वजनिक गर्न र सरकारले निष्पक्ष जवाफ दिनुपर्ने माग गरेकी छन्।
नागरिकको ज्यान जाने गरी भएको सो गम्भीर घटनामा कसको संलग्नता र कसको आदेशमा गोली प्रहार गरियो भन्ने कुरा स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
सांसद ओलीले सरकारको कदममाथि गम्भीर प्रश्न उठाइन्। ‘सुनसरीको कप्तानगञ्जमा गोली कसले चलाएको हो ? कसको आदेशमा सर्वसाधारणमाथि हतियार प्रहार भयो ? यो कुरा पीडित परिवार र आम जनताले स्पष्ट रूपमा जान्न पाउनुपर्छ,’ उनले भनिन्, ‘के सरकारले आफ्नै नागरिकमाथि गोली बर्साएर देशमा शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?’
कप्तानगञ्जमा भएको झडपका क्रममा स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएको विषयमा सांसद ओलीले कडा आपत्ति जनाएकी छन्। शक्ति प्रयोग गरेर समस्या दबाउन खोज्नुभन्दा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराइन्।




प्रतिक्रिया