विराटनगर । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। विश्व हिन्दू परिषद्को अगुवाइमा विभिन्न हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरू विरोध जुलुसमा सहभागी भएका थिए।
मेनरोडस्थित हनुमान मन्दिर क्षेत्रबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालयको गेटसम्म पुगेको थियो। प्रदर्शनकारीहरूले घटनाबारे सरकारको पहल पर्याप्त नभएको आरोप लगाउँदै ‘बालेन सरकार मुर्दावाद’ र ‘दोषीलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए।
प्रदर्शनलाई लक्षित गरी प्रशासन कार्यालय आसपास सुरक्षा व्यवस्था कडा बनाइएको थियो भने ब्यारिकेटसमेत राखिएको थियो। गत आइतबार राति साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपमा एक युवाको मृत्यु भएपछि तराई–मधेसका विभिन्न जिल्लामा विरोध प्रदर्शन हुँदै आएको छ।
यसैबीच, हिन्दू सम्राट नेपाल मोरङ जिल्ला कार्यसमितिले मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।




प्रतिक्रिया