काठमाडौँ । सुनसरीमा भएको दुई समुदायबीचको जातीय सामुदायिक तनावको असर अन्य जिल्लाहरूमा पनि पर्न थालेको छ। सोही क्रममा सिरहाको गोलबजारमा बिहीबार दिउँसो भएको तीव्र प्रदर्शन र झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय गणेश यादव रहेको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका छन्। गम्भीर घाइते १ जनाको उपचारका लागि धरान पठाइएको छ । यसैबीच, गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । दुई पक्षबीच हिंसात्मक झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। तर कर्फ्यूका बावजुद प्रदर्शनकारीहरूले आगजनी र तोडफोड जारी राखेपछि स्थिति थप तनावग्रस्त बनेको थियो।
यसैबीच, स्थानीय प्रशासन र प्रहरीले प्रत्यक्ष रूपमा गोली नचलाएको दाबी गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार भीडलाई तितरबितर पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास मात्र प्रयोग गरेको बताएका छन्। घटनापछि गोलबजार र आसपासका क्षेत्रमा सुरक्षा उपस्थिति कडा पारिएको छ ।




प्रतिक्रिया