मधेशका नेताहरूसँग सिंहदरबारमा प्रधानमन्त्रीको छलफल सुरु


काठमाडौँ । सुनसरीलगायत मधेसका केही जिल्लामा साम्प्रदायिक तनाव र झडपपछि सुरक्षा स्थिति भड्किँदै गएपछि समाधानको उपाय पहिल्याउन प्रधानमन्त्री बालेन शाहले मधेसबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग संवाद थालेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा समग्र मधेस प्रदेशको पछिल्लो सुरक्षा अवस्था, शान्ति सुव्यवस्था पुनर्वहाली र साम्प्रदायिक सद्भाव कायम गर्ने विषयमा सघन परामर्श भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।

बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, पूर्वमुख्यमन्त्री लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, सांसद अमरेशकुमार सिंह, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी र जयकान्त राउतलगायतका मधेसकेन्द्रित दलका प्रमुख नेताहरूको सहभागिता रहेको छ।

यसअघि सुनसरी, सिरहा, धनुषा, पर्सा र सप्तरी लगायतका जिल्लामा स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। घटनालाई लिएर चौतर्फी दबाब र आलोचना बढेपछि प्रधानमन्त्री शाहले आफैँ अग्रसरता लिँदै मधेसका राजनीतिक दलहरूलाई वार्ता र संवादका लागि सिंहदरबार बोलाएका हुन्। बैठकमा मधेसका नेताहरूले सरकारको हालसम्मको भूमिका र मधेसको वस्तुस्थितिबारे आफ्ना धारणा र सुझाव राखिरहेका छन्।