बैंकहरूमा १२ खर्बको अधिक तरलता: राष्ट्र बैंकले शुक्रबार २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप थुप्रिएर अधिक तरलता (लगानीयोग्य रकम) सिर्जना भएपछि त्यसको अल्पकालीन व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बजारबाट पुनः २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ६१ दिनका लागि उक्त रकम प्रशोचन गर्न लागेको हो।

वित्तीय प्रणालीमा प्रवाह भएको अधिक तरलतालाई नियन्त्रणमा राखी ब्याजदरमा स्थिरता ल्याउन राष्ट्र बैंकले यो कदम चालेको हो। इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले बुधबार दिउँसो ३ बजेसम्म यसका लागि अनलाइन आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकको पछिल्लो आँकडा अनुसार साउन ११ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ८२ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५९ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यस अवधिमा बैंकहरूको औसत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७१.०८ प्रतिशतमा झरेको छ। ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरेर कर्जा विस्तार गर्न पाउने कानुनी छुट भए पनि कर्जाको माग नबढ्दा बैंकहरूमा यतिवेला १२ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ।

लगानीका क्षेत्र सुस्त हुँदा बैंकहरू सकसपूर्ण अवस्थाबाट गुज्रिरहेका छन्। यही कारण केन्द्रीय बैंकले निरन्तर रूपमा निक्षेप संकलन बोलकबोलमार्फत बजारको निक्षेप खिच्दै आएको छ।

राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन बोलकबोल प्रतिस्पर्धात्मक ब्याजदरका आधारमा हुनेछ। संस्थाहरूले बहुब्याजदरमा पनि बोलकबोल गर्न सक्नेछन्। आवेदन दिँदा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको चार अंकसम्म) खुलाउनुपर्नेछ। प्राप्त बोलकबोलहरूलाई सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी माग भएबमोजिम क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ।