लुम्बिनी । सुनसरीको देवानगन्ज र मधेसका विभिन्न जिल्लाहरूमा भएका हिंसात्मक घटनापछि मुलुकभर उत्पन्न तनाव र अशान्तिको अन्त्यको कामना गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार विशेष शान्ति पाठ तथा प्रार्थना गरिएको छ।
लुम्बिनी विकास कोषको आयोजनामा पवित्र मायादेवी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा र दिगो शान्तिको कामना गरिएको हो। कार्यक्रममा थेरवादी र महायानी परम्पराका भिक्षु-भिक्षुणीहरूले सामूहिक रूपमा परित्राण पाठ गर्दै पछिल्लो समय देशका विभिन्न भागमा भएका द्वन्द्व र झडपमा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
सो अवसरमा भिक्षु सागर धम्मले नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएकाले सबै समुदायबीच आपसी एकता, सद्भाव र पारस्परिक सम्मान कायम रहनुपर्नेमा जोड दिए। “जसरी विभिन्न थरीका फूलहरूले बगैंचाको सौन्दर्य बढाउँछन्, त्यसरी नै विविध समुदायको सहअस्तित्वले नै नेपालको वास्तविक पहिचान बलियो बनाएको छ,” उनले भने।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव हिमाल उप्रेतीले भगवान बुद्धले लुम्बिनीको पावन भूमिबाट विश्वभर शान्ति, अहिंसा र करुणाको सन्देश फैलाएको स्मरण गर्दै देशमा घटित हालैका अप्रिय घटनाहरूप्रति दुःख व्यक्त गरे। उनले समाजमा थप हिंसा वा अशन्ति फैलिन नदिन लुम्बिनीबाटै शान्ति र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले यो प्रार्थना सभा आयोजना गरिएको स्पष्ट पारे।




प्रतिक्रिया