काठमाडौ । मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले यसपटक भएका सम्झौताहरूलाई विगतमा जस्तै बेवास्ता नगरी कार्यान्वयन गर्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा मधेशमा पछिल्लो समय देखिएका घटनाक्रमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतोले भएका सम्झौताहरूलाई कार्यान्वयनमा लैजान आग्रह गरिएको बताए। “सम्झौता भयो, त्यसलाई रद्दीको टोकरीमा नफालिदिनुहोला। विगतका सरकारले जस्तो नगर्नुहोला भनेका छौं,” उनले भने।
महतोले मधेशमा फैलिएको तनाव नियन्त्रण गर्न राज्य गम्भीर र संवेदनशील भएर अघि बढ्नुपर्ने बताए। राज्यको प्रभावकारी पहल बिना समस्या समाधान हुन नसक्ने भन्दै उनले सबै पक्षको सहयोग लिएर शान्ति कायम गर्नुपर्नेमा जोड दिए।
“मधेशमा फैलिएको आगो रोक्नुपर्यो। राज्यले प्रतिक्रिया नदिएपछि त्यो रोकिँदैन। हामी सबै सहयोग गर्न तयार छौं,” महतोले भने। उनले प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गरेकोमा धन्यवाद दिँदै समयमै सम्बोधन भएको भए पछिल्लो अवस्था फरक हुन सक्ने धारणा पनि राखेका थिए।




प्रतिक्रिया