काठमाडौँ । सुनसरीको देवानगञ्ज तथा मधेस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय सिर्जित अशान्त र असहज परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै हिन्दू तथा मुस्लिम समुदायका धार्मिक अगुवाहरूले संयुक्त अपिल जारी गरेका छन्। उनीहरूले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, महासंघका सचिवालय सदस्य राजुराज फुँयाल, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्धिकी र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीद्वारा जारी संयुक्त वक्तव्यमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै नेपाली राष्ट्रिय एकताको मूल आधार भएको उल्लेख गरिएको छ।
धार्मिक अगुवाहरूले सुनसरी र सिरहासहितका जिल्लामा भएका हिंसात्मक घटनाहरूको निष्पक्ष सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै, पीडित परिवारलाई क्षतिपूर्ति, राहत र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ।
विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसा भड्काउने प्रयास गरिरहेको तर्फ सचेत गराउँदै वक्तव्यमा भनिएको छ, “कुनै पनि धर्मले अर्को धर्म मान्नेलाई विभेद वा उचनिच गर्दैन। सम्पूर्ण नागरिकहरूलाई संयम रहन, उत्तेजनात्मक तथा घृणास्पद कार्यमा नलाग्न र सद्भाव खलबल्याउने गतिविधिलाई अस्वीकार गर्न हामी हार्दिक आह्वान गर्दछौँ।”
स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र सञ्चार-माध्यमहरूलाई संवाद र सहकार्यमार्फत शान्ति सुरक्षा पुनःस्थापित गर्न जोड दिँदै अगुवाहरूले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन अपिल गरेका छन्।





प्रतिक्रिया