काठमाडौ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला सिरहाको गोलबजार पुगेरका छन् । आज(सनिवार) बिहानै गोलबजार पुगेर धमलाले गत बिहीबार सुनसरी घटनाको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवका परिवारसँग भेट गरेका छन्।
धमलाले गणेशका आमाबुबा, बहिनी, दाइ तथा अन्य आफन्तसँग भेट गरी समवेदना व्यक्त गरे । छोराको सम्झनाले विछिप्त बनेका आमाबुबाले ऋषि धमलासँग आफ्ना पीडा, आँसु र न्यायको अपेक्षा पोख्दा उपस्थित सबैको मन भरंग भयो। आमाबुबाको रुवाइ र पीडाले वातावरण स्तब्ध बन्यो भने ऋषि धमलासमेत भावविह्वल बने।

धमलाले गणेशका परिवार र सरकारबीच भएको सम्झौता कार्यान्वयनका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। साथै, परिवारलाई आवश्यक सहयोग गर्न पनि आफू सधैं तयार रहने बताए।
धमला पछिल्लो समय मधेसमा देखिएको तनावलाई शान्तिपूर्ण रूपमा समाधान गर्न सक्रिय रूपमा लागिरहेका छन्। सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी विश्वास र भाइचाराको भावना बलियो बनाउन उनी प्रभावित क्षेत्रको निरन्तर भ्रमण गरिरहेका छन्।

भ्रमणका क्रममा उनले स्थानीय नागरिक, सरोकारवाला निकाय तथा प्रशासनसँग संवाद गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले शान्ति, एकता र सहअस्तित्व कायम राख्न सबैलाई मिलेर अघि बढ्न पनि आह्वान गरेका छन्।
यसअघि शुक्रबार धमलाले पर्सा, बारा लगायतका जिल्लाको भ्रमण गरी त्यँहाका स्थानीय नागरिक, उद्योगी–व्यवसायी तथा प्रमुख जिल्ला अधिकारीहरूसँग अन्तरसंवाद गरेका थिए।




प्रतिक्रिया