काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वमा करुणा र सहानुभूति हुनुपर्ने बताएका छन् ।
शनिवार एक कार्यक्रममा ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वको प्रमुख गुण मानवीय संवेदना हुनुपर्ने बताएका हन् ।
सभापति थापाले आगामी साउन २४ गतेदेखि पार्टीले ‘एनसी फर एनसी’ (नेप्लिज काँग्रेस फर नेसनल कज) अभियान शुरु गर्न लागेको जानकारी दिए । यस अभियानअन्तर्गत पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताले वर्षभर आफूलाई कुनै न कुनै सामाजिक वा राष्ट्रिय कार्यमा संलग्न गराउनुपर्ने नीति लिइएको उनले स्पष्ट पारे ।
सभापति थापाले भने, ‘एनसि फर एनसि भनेर हामीले जुन अभियान शुरु गरेका छौँ, नेपाली काँग्रेस फर नेशनल कज भनेर, यो श्रावण २४ गतेदेखि पार्टीका साथीहरूले आफ्नो काम शुरु गर्नुहुन्छ । पहिलो दिनदेखि नै हामी प्रत्येकले कुनै न कुनै एउटा कामसँग आफूलाई वर्षभरि जोड्छौँ । मेरो अनुरोध यो प्रशिक्षणमा आउनुभएका प्रत्येक साथीहरूलाई के छ भने, यो वर्षका लागि आफ्नो नेशनल कजको प्रतिवद्धता विपद् व्यवस्थापनसँग जोडेर बनाइदिनुहोस् । यहाँ सिकेका कुरालाई वर्षभरि व्यवहारमा उतार्नुहोस् । केही नभए पनि आफूले सिकेको ज्ञान अर्को चार–पाँच जनासम्म पुर्याउनुभयो भने पनि त्यो ठूलो योगदान हुनेछ ।’
सामाजिक सञ्जालको चर्चा (लाइक) र मानवीय जीवन (लाइफ) बीचको भिन्नता उल्लेख गर्दै उनले भर्चुअल लोकप्रियताभन्दा नागरिकको जीवन रक्षा र सेवालाई प्राथमिकता दिन युवाहरूलाई सुझाव दिए । ‘यदि करुणा, माया र सहानुभूति हरायो भने हामी केवल मेसिनजस्ता बन्छौँ, जहाँ भ्युज र लाइक मात्र महत्त्वपूर्ण हुन्छ । मैले साथीहरूलाई भनेको थिएँ, लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुहोस्,’ थापाले भने ।




प्रतिक्रिया