काठमाडौं । रुसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म युक्रेनको राजधानी किभमाथि ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत भीषण आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा नौजनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।
किभका मेयर भिताली क्लिच्कोका अनुसार सोलोमियान्स्की जिल्लामा पाँचतले एक आवासीय भवनको भग्नावशेष खस्दा दुईजनाको मृत्यु भएको छ । दुई बालबालिकासहित आठजना घाइते भएका छन् ।
सबैभन्दा बढी क्षति कहाँ भयो ?
राजधानीको दार्नित्स्की जिल्लामा सबैभन्दा बढी प्रभावित भएको छ । घर, सवारीसाधन, एक प्रशासनिक भवन तथा अन्य गैरआवासीय संरचनामा क्षति पुगेको छ । राज्य आपत्कालीन सेवाका अनुसार यस क्षेत्रमा सातजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
शेभचेन्किभ्स्की जिल्लामा एउटा गैरआवासीय भवनमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।
एक सातामै दोस्रो ठूलो आक्रमण
दुई दिनअघि मात्रै रुसले युक्रेनभर ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत गरेको व्यापक आक्रमण गरेको थियो ।
उक्त आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको थियो । ५० भन्दा बढी व्यक्ति घाइते भएका थिए ।
जेलेन्स्कीले अमेरिकासँग के मागे ?
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका निरन्तर मिसाइल आक्रमण रोक्न अमेरिका र अन्य पश्चिमी सहयोगी राष्ट्रहरूसँग ‘प्याट्रियट’ हवाई रक्षा प्रणाली उपलब्ध गराइदिन पुनः आग्रह गरेका छन् ।
शुक्रबार राति उनले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग टेलिफोनमा कुराकानी गरेको जानकारी दिएका छन् । उक्त वार्ताका क्रममा यसै साता वासिंटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताबारे पनि छलफल भएको उनले बताएका छन् । बीबीसी




प्रतिक्रिया