देवानगञ्ज घटनामा ज्यान गुमाएका दुई युवाका परिवारलाई भेट्न पुगे ऋषि धमला



सुनसरी । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले केही दिनअघि सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई समुदायबीच भएको विवाद र झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता तथा उपचारका क्रममा मृत्यु भएका जयप्रकाश मेहताका परिवारलाई भेटेका छन्।


शनिबार देवानगञ्ज पुगेका धमलाले मृतकका परिवारजनसँग भेटघाट गर्दै समावेदना व्यक्त गरे । भेटका क्रममा धमलासँग मृतकका परिवार भावविह्वल बनेका थिए।



परिवारसँगको भेटमा धमलाले सरकार र मृतकका परिवारबीच भएको सहमति तथा सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन होस् भन्नेमा जोड दिए । उनले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन हुनुपर्ने बताए।


पछिल्लो समय मधेस क्षेत्रमा देखिएको तनावलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने उद्देश्यका साथ धमला प्रभावित जिल्लाहरूको निरन्तर भ्रमणमा छन्। उनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी विश्वास र भाइचाराको भावना थप बलियो बनाउन सबै पक्षले संयमता अपनाउनुपर्ने बताएका छन्।



भ्रमणका क्रममा उनले स्थानीय नागरिक, सरोकारवाला निकाय तथा प्रशासनसँग निरन्तर संवाद गर्दै शान्ति, एकता र सहअस्तित्व कायम राख्न सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।




यसअघि शनिबार बिहान सिरहाको गोलबजार पुगेर धमलाले सुनसरी घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग पनि भेट गरेका थिए।

त्यस्तै शुक्रबार उनले पर्सा, बारा लगायतका जिल्लाको भ्रमण गरी स्थानीय नागरिक, उद्योगी–व्यवसायी तथा प्रमुख जिल्ला अधिकारीहरूसँग अन्तरक्रिया गर्दै पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गरेका थिए।