काठमाडौ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा केही दिन अघि भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको स्मृतिमा स्थानीय युवाहरूले शनिबार साँझ दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेका छन्।
उक्त सभामा वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । सम्बोधनका क्रममा उनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।
धमलाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन हुनुपर्नेमा जोड दिए। साथै, पीडित परिवारलाई न्याय दिलाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।
यसअघि शनिबार नै धमलाले ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारलाई भेटेर समवेदना व्यक्त गरेका थिए। भेटका क्रममा उनले सरकार र मृतकका परिवारबीच भएको सम्झौता कार्यान्वयनका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
धमला पछिल्लो समय मधेसमा देखिएको तनावलाई शान्तिपूर्ण रूपमा समाधान गर्न सक्रिय रूपमा लागिरहेका छन्। सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी विश्वास र भाइचाराको भावना बलियो बनाउन उनी प्रभावित क्षेत्रको निरन्तर भ्रमण गरिरहेका छन्।




प्रतिक्रिया