देवानगञ्ज घटनाका घाइतेको अवस्था बुझ्न अस्पताल पुगे ऋषि धमला


काठमाडौ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा केही दिनअघि दुई समुदायबीच भएको विवाद तथा झडपका क्रममा घाइते भएका सात जना बिरामीको अस्पतालमा उपचार भइरहेको छ । विराट नर्सिङ होम र न्युरो अस्पताल उपचाररत उनीहरुको स्वास्थ्य अवस्था बुझ्न आज बिहानै वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालको संयोजक ऋषि धमला अस्पतालमा पुगेका छन् ।

अस्पताल पुगेर धमलाले उपचाररत घाइतेहरूसँग भेटघाट गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। उनले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन र उपचारसँगै खानपिन तथा आवश्यक सेवासुविधाको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे।

घाइते तथा उनीहरूका आफन्तसँग कुराकानी गर्दै धमलाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन हुनुपर्नेमा जोड दिए। उनले पीडित परिवारले न्याय पाउनुपर्ने उल्लेख गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने बताए।

यसअघि शनिबार धमलाले देवानगञ्ज पुगेर सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र उपचारका क्रममा मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गरी समवेदना व्यक्त गरेका थिए। उनले मृतकका परिवारसँग भएको सरकारी सम्झौता कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाएका थिए।

शनिबार साँझ नै स्थानीय युवाहरूले आयोजना गरेको दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभामा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै धमलाले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै घटनाको निष्पक्ष छानबिनमार्फत पीडितलाई न्याय दिलाउन राज्य गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरेका थिए।

पछिल्लो समय मधेस तथा पूर्वी तराईका प्रभावित जिल्लाहरूको निरन्तर भ्रमणमा रहेका धमलाले स्थानीय नागरिक, प्रशासन र सरोकारवालासँग संवाद गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहअस्तित्वलाई बलियो बनाउन सबै पक्ष संयमित हुनुपर्नेमा जोड दिँदै आएका छन्।