गृहमन्त्रीको आश्वासनपछि ‘हिन्दू सम्राट सेना’द्वारा आन्दोलनका सबै कार्यक्रम फिर्ता !


जनकपुर । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच समझदारी भएको छ।

जनकपुरधामस्थित एक होटलमा भएको करिब डेढ घण्टाको वार्तापछि दुवै पक्षबीच सहमति भएको जनाइएको छ। सरकारको तर्फबाट गृहमन्त्री गुरुङको नेतृत्वमा प्रतिनिधिहरू सहभागी भएको वार्तामा हिन्दू सम्राट सेनाले यसअघि प्रस्तुत गरेको १३ बुँदे मागमा थप विषय समेटेर १९ बुँदे प्रस्ताव सरकारसमक्ष बुझाएको जनाएको छ।

हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार सरकारले ती मागलाई सकारात्मक रूपमा लिएको छ। माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको उनले बताए।

वार्तामा आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलेको घटनाको छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्ने विषयमा समेत समझदारी भएको सनातनीले जानकारी दिए।

सरकारबाट माग सम्बोधन हुने आश्वासन पाएपछि हिन्दू सम्राट सेनाले आफ्ना सबै प्रकारका आन्दोलन तथा विरोधका कार्यक्रम फिर्ता लिएको जनाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयको सभा हलमा भएको छलफलमा सरकारले प्राप्त गरेको १३ बुँदे मागपत्र र शनिबार बुझाइएको थप ६ बुँदे मागपत्र गृहमन्त्री गुरुङले सरकारको तर्फबाट ग्रहण गरेका थिए।

यद्यपि, समझदारीको विस्तृत विवरण, कार्यान्वयनको समयसीमा र सरकारका तर्फबाट भएको औपचारिक प्रतिबद्धताबारे थप जानकारी सार्वजनिक हुन बाँकी छ।