करिब ८ सय ४ किलो गाँजा सहित दुई जना पक्राउ


धनकुटा, चौबिसे गाउँपालिका-४ फलामेटारस्थित जनता आवासको लागि बनाइएको खाली घरबाट अवैध लागूऔषध गाँजा करिब ८ सय ४ किलोग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चौबिसे गाउँपालिका-४ बस्ने ३४ वर्षीय आशिष विश्वकर्मा र छथरजोरपाटी गाउँपालिका-४ घर भएका ४० वर्षीय हरि प्रसाद ओझा रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उक्त घर तलासी गर्दा लुकाई छिपाई राखिएको ४८ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।