काठमाडौं, साउन १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ। विभागले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा अन्य नदीहरूमा जलसतह बढ्ने सम्भावना रहेको छ।
विभागका अनुसार सोमबार बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि केही नदीमा बहाव बढ्दो क्रममा छ।
तीन दिनको पूर्वानुमानअनुसार कोशी जलाधारका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशी लगायतका नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। नारायणी जलाधारका नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा समेत बहाव बढ्ने विभागले जनाएको छ।
त्यस्तै कर्णाली जलाधारका कर्णाली, भेरी र पश्चिम सेती नदी तथा महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती र बबई नदीमा पनि जलसतह बढ्ने पूर्वानुमान गरिएको छ।
विभागले आज काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी लगायतका जिल्लामा बहने स–साना नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। विभागले नदीको जलस्तर बढ्न सक्ने भएकाले नियमित सूचना लिन, आवश्यक तयारी गर्न र जोखिम क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ।
महाशाखाले पहेँलो रङको सङ्केत भएका क्षेत्रमा नदीको जलस्तर बढ्न सक्ने भएकाले निगरानी बढाउन, सुन्तला रङको संकेत भएका क्षेत्रमा बाढीको सम्भावना उच्च रहेकाले तयारी अवस्थामा रहन तथा रातो संकेत भएका क्षेत्रमा उद्धार र सुरक्षित स्थानान्तरणका लागि तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
विभागका अनुसार साउन १९ गतेसम्म केही स–साना नदीमा बहाव आकस्मिक बढ्न सक्ने र साउन २० गतेसम्म पनि केही नदीमा बहाव बढ्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार मनसुन सक्रिय रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।




प्रतिक्रिया