सांसद भन्छन्- ‘तराई–मधेसमा पानी नपरेर खेत बाँझै भयो’


काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारकाे बैठकको शून्य समयमा सांसद चन्द्रमोहन यादवले तराई मधेसमा महिनौँदेखि वर्षा नभएको बताउँदै साउन सकिन लाग्दा पनि खेत बाँझै रहेको सुनाए।

सांसद जगतप्रसाद जोशीले भारतले नेपालको सहमतिविना निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको उल्लेख गर्दै कैलाशपुरीमा यस्तै भएको बताए। सांसद जगदीश खरेल (ललितपुर) ले सुनसरी र सिराहको घटनामा सरकारले सुझबुझ समाधान गरेको, यस विषयमा विपक्षी दलले पनि साथ दिएको बताए।

सांसद जनकराज गिरीले सांसदले उठाएका विषयको काम के भयो भनी प्रश्न गरे । सांसद जनकसिंह धामीले बेलौरी भन्सार स्तरोन्नति गर्न, सामाजिक सद्भाव कायम राख्न, जग्गाा नभएकालाई पूजा दिनुपर्ने माग गरे।

सांसद जयपति रोकायाले हुम्लामा बाढीले जनश्रमदानबाट निर्माण भएको पुल र बाटो बगाएकाले बस्तीलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्न माग गरे । सांसद झवीलाल डुम्रेले असार ३२ गते गल्याङ नगरपालिका–६ मा धनबहादुर थापाले गोठ भत्केर जीवन गुमाए । बाली नगरपालिकामा मोटरसाइकल चलाइरहेका समाजसेवीका अर्को सवारी दिएको ठक्करले विनोद अर्यालको निधन भएकाले यस्ता घटना नहुने वातावरण बनाउन माग गरे।

सांसद टुकाभद्र हमालले निर्मल पूर्जाले नेपाली युवालाई प्रेरणा दिएकाले पर्वतारोहणका बेला निधन भएका पूर्जाका विषयमा उपयुक्त निर्णय गर्न माग गरे। सांसद ठाकुरसिंह थारुले खेतमा मल छैन, भान्सामा ग्यास छैन, गर्मी छ फ्यान चलाउन बत्ती छैन भन्दै गुनासो गरे।

सांसद तारा विश्वकर्माले अव्यवस्थित प्लटिङ नरोके विपद् निम्त्याउन सक्ने भएकाले सचेत गराउन माग गरे। सांसद डा. तोसिमा कार्कीले कान्ति लोकपथको मार्ग परिवर्तन गर्दा स्थानीयवासी समस्यामा परेकाले निर्णय खारेज गर्न माग गरे।

सांसद तैफिक अहमद खानले रूपन्देहीको आफ्नो क्षेत्रमा शुद्ध खानेपानीको व्यवस्था गर्न माग गरे। त्यस क्षेत्रका भूमिहीनको अन्योल समाधान गर्न पनि उनले माग गरे। सांसद दीपककुमार साह सुनसरीले देवानगञ्ज घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गरे। सांसद देवराज पाठकले मौसमका बारेमा पूर्वानुमान गर्ने व्यवस्था गराउन माग गरे।

सांसद धनञ्जय रेग्मीले स्याङ्जाको सामुदायिक विद्युत् प्रणाली व्यवस्थित गर्न माग गरेकामा अझै काम नभएकामा सरकारको ध्यानाकर्षण गराए। सांसद नरेन्द्रकुमार केरुङले पाँचथरमा मात्र पाँच हजार ग्यास सिलिण्डर आवश्यक छ तर नपाइने गरेको गुनासो गरे।