काठमाडौँ । काठमाडौँ जिल्लाभित्रका होटेल तथा रेस्टुरेन्टहरूमा अब जथाभाबी हुक्का तथा चुरोट पिउन नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै जिल्लाभित्रका सबै होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई कानुनबमोजिम धुम्रपान क्षेत्रको व्यवस्थापन गर्न कडा निर्देशन दिएको हो ।
होटेल र रेस्टुरेन्टहरूमा अव्यवस्थित रूपमा धुम्रपान गर्दा धुम्रपान नगर्ने मानिसहरूको स्वास्थ्यमा गम्भीर असर परेको र व्यवसायीहरूले कानुनी व्यवस्थाको पालना नगरेको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको जनाइएको छ ।
सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ अनुसार अबदेखि काठमाडौँका होटेल तथा रेस्टुरेन्टहरूले धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थलहरू प्रस्ट देखिने गरी छुट्याउनुपर्नेछ । प्रशासनका अनुसार धुम्रपान गर्न मिल्ने गरी तोकिएको स्थान चारैतिरबाट बन्द भएको र त्यसको धुवाँ वा असर बाहिर रहेका अन्य ग्राहकहरूलाई नपर्ने प्रकृतिको हुनुपर्नेछ ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित उक्त सूचनामार्फत सम्पूर्ण होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई कानुनको पालना गरी व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ ।





प्रतिक्रिया