रास्वपा सांसद नै गर्छन् गगन थापाको प्रशंसा,भन्छन्- ‘उहाँ राजनीतिक रूपमा परिपक्व हुनुहुन्छ’


काठमाडौं । नुवाकोट क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अच्युतम लामिछानेले नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पछिल्लो समय जनतामाझ सकारात्मक सन्देश प्रवाह गरिरहेको बताएका छन्।


प्राइम टेलिभिजन एचडीको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँग कुरा गर्दै सांसद लामिछानेले सकारात्मक सन्देशमार्फत जनताको मन जित्ने राजनीतिक दल नै आगामी दिनमा स्थापित हुने धारणा व्यक्त गरे।


“कांग्रेसका सभापति गगनजीले कति सकारात्मक सन्देश दिइरहनुभएको छ। अब सकारात्मक सन्देश दिएर आम नागरिकको मन जित्ने पार्टी मात्रै यो देशमा स्थापित हुन्छ,” उनले भने, “जसले धेरै गाली गर्छ, जसले अरूलाई होच्याउँछ—चाहे टेलिभिजनमा होस्, संसदमा होस् वा अन्य कुनै मञ्चमा—त्यसलाई नागरिकले बुझिसकेका छन्। अब आम नागरिक नबुझ्ने अवस्थामा छैनन्।”


लामिछानेले पछिल्लो समय गगन थापाले तुलनात्मक रूपमा परिपक्व राजनीतिक भूमिका निर्वाह गरिरहेको पनि बताए।
उनले समग्र राजनीतिक नेतृत्वबाट पनि सकारात्मक सन्देश आइरहेको उल्लेख गर्दै भने, “पूर्वका घटनामा पनि देखियो। रास्वपा सभापति रवीजीले नेतृत्व गर्नुभयो, प्रधानमन्त्रीज्यूले पनि आफ्नो वक्तव्य जारी गर्नुभयो। सबैले राज्यप्रति सकारात्मक सन्देश दिएर अघि बढ्नुभएको छ।”


उनले विशेषगरी गगन थापाले पछिल्लो चरणमा अझ संयमित र सकारात्मक राजनीतिक शैली अपनाएको टिप्पणी गरे। “यदि राजनीति आक्षेप, लाञ्छना र दोषारोपणमै सीमित भयो भने त्यसले फाइदा गर्दैन। अहिलेका नागरिक सूचना र तथ्यबाट विमुख हुँदैनन्। हामीले भनेको मात्रै होइन, उनीहरूले आफैं पनि बुझ्ने र सिक्ने क्षमता राख्छन्। त्यसैले सकारात्मक बाटोमै राजनीति अघि बढाउनुपर्छ भन्ने कुरा गगनजीले बुझिसक्नुभएको जस्तो लाग्छ,” उनले भने।