न्युयोर्क । हालसम्म कम्पनीहरूले एआईको व्यापक प्रयोग गर्दै आएका थिए ।
तर एआई प्रयोगको लागत बढ्दै गएपछि माइक्रोसफ्टले आफ्नै कर्मचारीको एआई प्रयोगमा पनि सीमा तोकेको छ ।
एआईमा अर्बौँ डलर लगानी गरिरहेको यो अग्रज प्रविधि कम्पनीले आफ्नै कर्मचारीलाई भने एआई प्रयोगमा लगाम लगाउनुपर्ने अवस्था किन आयो त ?
अहिलेसम्म कम्पनी तथा संस्थाहरूले सकेसम्म धेरै एआई उपकरण प्रयोग गर्दै आएका थिए । प्रविधि उद्योगमा यसलाई ‘टोकनम्याक्सिङ’ भनिन्छ । तर एआई मोडल सञ्चालन र इन्फरेन्सको लागत बढ्दै गएपछि कम्पनीहरूलाई आफ्नो बजेट नियन्त्रण गर्न बाध्य बनाएको छ ।
यही अवस्थामा प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले पनि महत्त्वपूर्ण निर्णय गरेको छ । यो निर्णयले उद्योगमा आउन सक्ने ठुलो परिवर्तनतर्फ सङ्केत गरेको छ । कम्पनीले आफ्नै कर्मचारीले एआई प्रयोग गर्ने सीमामा कटौती गर्ने निर्णय गरेको छ ।
- के हो पूरा मामला ?
माइक्रोसफ्टका कार्यकारी उपाध्यक्ष जे पारीखले हालै कम्पनीका कर्मचारीलाई एउटा इमेल पठाएका थिए । त्यसमा उनले कम्पनीले आफ्ना लक्ष्य हासिल गर्न ‘जिटहब कोपाइलट’को प्रयोग बढाउँदै गएको उल्लेख गर्दै टोकनको खपतमा पनि ध्यान दिनुपर्ने बताएका थिए ।
अबदेखि माइक्रोसफ्टका प्रत्येक विभागलाई टोकनको निश्चित ‘पूल’ उपलब्ध गराइनेछ । विभागको आवश्यकताअनुसार उक्त सीमा बढाउन वा घटाउन सकिनेछ । तर अब कुनै पनि कर्मचारी वा विभागले एआईको मनपरी अथवा असीमित प्रयोग गर्न पाउने छैन ।
- निर्णयपछि कर्मचारीमा बढ्यो चिन्ता र प्रश्न
कम्पनीको उक्त इमेलपछि एक अज्ञात कर्मचारीले एउटा मिडिया रिपोर्टमा टिप्पणी गर्दै यो निर्णयले धेरै कुरा स्पष्ट पारेको बताएका छन् । उनका अनुसार एआईमा ठुलो लगानी गरेको र आफ्ना विभिन्न एआई इन्फरेन्सलाई सब्सिडी दिँदै आएको कम्पनीले अहिले आफ्नै कर्मचारीलाई खर्च घटाउन र एआईको प्रयोग सीमित गर्न सुझाव दिनु महत्त्वपूर्ण विषय हो ।
- किन लिइयो यस्तो निर्णय ?
विशेषज्ञहरूका अनुसार माइक्रोसफ्टजस्तो कम्पनीले गरेको यो निर्णयले एआई उपकरणको अत्यधिक प्रयोग अर्थात् ‘टोकनम्याक्सिङ’ अब कम्पनीहरूको आर्थिक भारसमेत बन्न थालेको देखाउँछ ।
माइक्रोसफ्टजस्ता कम्पनीहरूले बजारमा एआई उपकरण बिक्री गरिरहेका भए पनि आफ्नै संस्थाभित्र एआई सञ्चालन गर्दा बढिरहेको लागत नियन्त्रण गर्नु अहिले उनीहरूको प्राथमिकता बन्न थालेको छ ।
एआई मोडलमा प्रयोग हुने टोकनले प्रयोगकर्ताले पठाएको इनपुट र मोडलले उत्पादन गरेको आउटपुटलाई मापन गर्ने आधारका रूपमा काम गर्छ । एआईको प्रयोग र जटिलता बढ्दै जाँदा टोकनको खपत पनि बढ्छ, जसले मोडल सञ्चालन अर्थात् इन्फरेन्सको लागत बढाउन सक्छ ।
माइक्रोसफ्टको पछिल्लो निर्णयले एआईको विस्तारसँगै ‘जति धेरै प्रयोग, उति राम्रो’ भन्ने सोचबाट कम्पनीहरू अब लागत र दक्षतामा केन्द्रित हुन थालेको सङ्केत देखाएको छ ।




प्रतिक्रिया