अमेरिकासँग प्रशस्त गोला–बारुद छन् : ट्रम्प


वाशिङटन डीसी । अमेरिकासँग अझै पनि प्रशस्त मात्रामा गोला–बारुद (म्युनिसन्स) रहेको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । इरानसँग जारी युद्धका कारण अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)को हतियार भण्डार उल्लेखनीय रूपमा घटेको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफ्नो सन्देशमा ट्रम्पले अमेरिकाको रक्षा क्षमता बलियो रहेको उल्लेख गर्दै आवश्यक सबै प्रकारका हतियार पर्याप्त मात्रामा उपलब्ध रहेको बताए । केही विशेष प्रकारका गोला–बारुदको भण्डार निकै ठूलो रहेको र आवश्यकताअनुसार नयाँ हतियारहरू निरन्तर उत्पादन गरी अमेरिकी सेनालाई उपलब्ध गराइरहेको दाबी पनि उनले गरे ।

‘अमेरिकासँग ठूलो मात्रामा गोला–बारुद उपलब्ध छ । साथै आवश्यकताअनुसार नयाँ हतियार उत्पादन गरी निरन्तर आपूर्ति भइरहेको छ।’ पोष्टमा उनले लेखेका छन् । ट्रम्पले अमेरिकाको रक्षा उद्योगलाई पनि प्रशंसा गर्दै देशभर इतिहासकै सबैभन्दा धेरै रक्षा उद्योगका कारखाना निर्माण भइरहेको दाबी गरेका छन्। उनका अनुसार ती उद्योगहरूले भविष्यमा अमेरिकी सेनाको आवश्यकतालाई सहज रूपमा पूरा गर्नेछन् र राष्ट्रिय सुरक्षालाई अझ सुदृढ बनाउनेछन्।

यसअघि मङ्गलबार सीएनएनले अमेरिकी रक्षा मन्त्रालयको अवस्था सम्बन्धी एक रिपोर्ट सार्वजनिक गरेको थियो । उक्त रिपोर्टमा अमेरिकी सेनाले आफ्नो प्रमुख मिसाइल प्रतिरक्षा प्रणाली ‘थाड’ का करिब ८० प्रतिशत अवरोधक मिसाइल प्रयोग गरिसकेको उल्लेख गरिएको थियो । रिपोर्टमा धेरै स्रोतलाई उद्धृत गर्दै वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले पेन्टागनको गोला–बारुद भण्डार खतरनाक रूपमा घट्दै गएको चेतावनी दिएको जनाइएको थियो ।

ट्रम्पले अप्रत्यक्ष रूपमासीएनएको समाचारको खण्डन गर्दै अमेरिकाको सैन्य क्षमता कमजोर नभएको बताएका छन् । उनले कुन प्रकारका गोला–बारुद पर्याप्त मात्रामा उपलब्ध छन् भन्नेबारे भने विस्तृत जानकारी दिएका छैनन् । उनका अनुसार रक्षा उद्योगहरू तीव्र गतिमा उत्पादन बढाइरहेका छन् र आवश्यक परे थप हतियार तत्काल निर्माण गर्न सक्ने क्षमता अमेरिकासँग छ । उनले नयाँ रक्षा उद्योग स्थापना तथा उत्पादन विस्तारलाई आफ्नो प्रशासनको उपलब्धिका रूपमा पनि प्रस्तुत गरेका छन् । एजेन्सी