काठमाडौं । आज बसेको राष्ट्रियसभाको बैठकमा प्रश्नोत्तरमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ रोष्ट्रममा उपस्थित भएका छन् । उनलाई सूरुमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तको हत्यारा कहिले पत्ता लाग्छ भन्दै प्रश्न गरे । उक्त प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री सुधनले उल्टै प्रतिप्रश्न गरेका छन् ।
सांसद विष्णुबहादुर ले सोधे ,‘कञ्चनपुरकी निर्मला पन्तको दिनदहाडै बलात्कार पछि हत्या भएको दश वर्ष नाघेको छ । दोषी पत्ता लगाइ न्याय दिन नसक्नुको कारण के हो । के हाम्रो राज्य संयन्त्र असफल भएको हो ?’
जवाफमा गृहमन्त्री गुरुङले भने, ‘एकदमै सेन्सिटिभ विषय हो । अहिलेको सरकारलाई यो भारी नबोकाउनुस्,’ उनले भने, ‘म माननीयज्यूलाई नै यो प्रश्न सोध्न चाहन्छु– तपाईंहरु सरकारमा हुँदा हत्यारा किन पत्ता नलगाएको ?’
उक्त घटना एकदमै सेन्सिटिभ भएको भन्दै बारम्बार यो विषयमा प्रश्न नगर्नसमेत गृहमन्त्रीले आग्रह गरे । ‘यसको प्रगतिबारे मलाई व्यक्तिगत रूपमा आएर सोध्नुहोला, मसँग उत्तर छ तर यसरी सार्वजनिक रूपमा पटक–पटक चर्चा गर्दा आमाको पीडा मात्रै बल्झिन्छ,’ उनले भने ।
सभाका अध्यक्षले पुरक पश्न सोध्नका लागि दिएको समयमा विश्वकर्माले सांसदको नैसर्गिक अधिकारमा मन्त्रीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । सांसद विश्वकर्माले पुनः त्यही प्रश्न दोहोर्याए । तर, गृहमन्त्री सुधनले उक्त प्रश्नको जवाफ नदिने बताए ।
उनले उक्त विषयमा सदन भन्दा बाहिर सांसदहरुले बुझ्न चाहेमा भइरहेको अनुसन्धानको विषयमा जानकारी दिने बताए ।




प्रतिक्रिया