ऋषि धमलाको पहलमा बागलुङको थामचौरमा पहिलोपटक पुग्यो खानेपानी




बागलुङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाको पहलमा बागलुङको बडिगाड गाउँपालिका–स्थित थामचौरमा करिब ३० वर्षपछि खानेपानी पुगेको छ । वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका करिब ३५० घरधुरीका स्थानीय पहिलोपटक आफ्नै गाउँमा खानेपानी पुगेपछि खुशी भएका छन्।



दुई महिनाअघि ‘देशदौडाहा’ अभियानका क्रममा थामचौर पुगेका धमलासँग स्थानीयले सबैभन्दा ठूलो समस्या खानेपानीको रहेको बताएका थिए। त्यसक्रममा धमलाले “दुई महिनाभित्र खानेपानी उपलब्ध गराउने प्रयास गर्छु” भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


उक्त प्रतिबद्धताअनुसार धमलाले स्थानीय सरकार तथा खानेपानी कार्यालयसँग निरन्तर समन्वय र पहल गरेपछि खानेपानी कार्यालयले आवश्यक पाइप उपलब्ध गरेको थियो । त्यसपछि स्थानीयवासी आफैं श्रमदानमा जुटेका थिए ।


गाउँलेहरूको एकता, अथक मेहनत र सामूहिक श्रमले अन्ततः वर्षौंदेखिको सपना साकार भएको हो।


खानेपानी गाउँमा पुगेपछि स्थानीयवासी खुशी भएका छन्। वर्षौंदेखि टाढाबाट पानी बोकेर दैनिक जीवन चलाउन बाध्य भएका उनीहरू अहिले आफ्नै गाउँमा स्वच्छ खानेपानी पाउँदा खुसी व्यक्त गर्दै ऋषि धमलाप्रति आभार प्रकट गरेका छन्।