काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको पुनःनिर्माण तथा मर्मतका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन्।
डा. कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई औपचारिक पत्र पठाउँदै उक्त प्रयोजनका लागि छुट्याइएको सम्पूर्ण रकम फिर्ता लिन आग्रह गरेका हुन्।
गतवर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमा आगजनी हुँदा ठूलो भौतिक क्षति पुगेको थियो।
सोही क्षतिको पुनःनिर्माण र मर्मतसम्भारका लागि सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत रु २ करोड विनियोजन गरेको थियो।
डा. कोइरालाले निजी–पारिवारिक स्वामित्व वा ऐतिहासिक धरोहर भए पनि आफ्नै निवास मर्मतका लागि सरकारी कोषको रकम लिनु नैतिक रूपमा अनुपयुक्त हुने जनाउँदै उक्त बजेट नलिने निर्णय गरेका हुन्।
रकम अस्वीकार गर्ने निर्णयसँगै डा. कोइरालाले विनियोजित बजेट सरकारी खातामै फिर्ता पठाउन मन्त्रालयलाई अनुरोध गरेका छन्। बजेट अस्वीकार गर्ने उनको यो कदमलाई लिएर यतिबेला राजनीतिक तथा सार्वजनिक वृत्तमा प्रशंसा र विभिन्न कोणबाट व्यापक चर्चा शुरु भएको छ।





प्रतिक्रिया