संविधानको परिमार्जन आवश्यक छ: आङदेम्बे


काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान संविधाननको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रवार सम्बोधन गर्दै नेता आङदेम्बेले संविधानको पुनर्लेखनभन्दा पनि कार्यान्वयनका क्रममा देखिएका जटिलतालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

उनले संविधान कार्यान्वयनको १० वर्षमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसङ्ख्यक, मुस्लिम र थारु समुदायले भोग्नुपरेका समस्यालाई पहिचान गरी संशोधनमार्फत समाधान खोजिनुपर्ने बताए ।

पछिल्लो समय लोकप्रियताका नाममा संविधानविरुद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व निम्त्याउने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।


यस्ता प्रवृत्तिप्रति आदिवासी जनजाति समुदाय विशेष सचेत हुनुपर्ने उनले बताए । ‘हामी अहिले संविधानको पुनरावलोकन गर्ने ठाउँमा आइपुगेका छौँ । यो नयाँ संविधानको खोजी वा पुनर्लेखन नभई १० वर्षको अभ्यासमा देखिएका कमजोरीहरू सुधार्न गरिने परिमार्जन हो,’ उनले भने ।