धनुषाकाे ट्रमा सेन्टर सार्ने विषयमा आजै जवाफ दिन सरकारलाई निर्देशन


काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले उठाएको धनुषाकाे ट्रमा सेन्टर सार्ने विषयमा आजै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद यादवले धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले अन्यत्र सार्न खोजेको भन्दै कडा आपत्ति जनाएका थिए। सांसद यादवको विरोध र गम्भीर ध्यानाकर्षणपछि सभामुख अर्यालले सरकारलाई सो विषयमा स्पष्ट पार्न निर्देशन दिएका हुन्।

आकस्मिक समयमा बोल्दै सांसद डा‍.यादवले सरकारले राजनीतिक प्रतिशोध वा अन्य स्वार्थका कारण ढल्केबरको ट्रमा सेन्टर सार्न लागेको आरोप लगाउँदैसदनको बैठक अवधिभर उभिएर ‘मौन विरोध’ गर्ने घोषणा गरे। सभामुखले बस्न आग्रह गरे तर उनी मानेनन् ।

त्यसपछि सांसद यादवले सरकारलाई जवाफ दिन निर्देशन दिएमा आफू बस्ने बताए । त्यसपछि सभामुखले सरकारलाई आजै जवाफ दिन निर्देशन दिएका हुन् ।