काठमाडौं । केही दिन यता देशैभर खान पकाउने ग्यासको अभाव भइरहेको छ । यसै विषयलाई लिएर आज सदनमार्फत सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले सरकारको ध्यानाकर्षण गरेका छन् । उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको क्वाटरमा ग्यासको अभाव छ कि छैन भनि सोधेका छन् ।
उनले रास्वपाको सरकार आएपछि सरकारी कार्यालयमा ‘नो लाइन वानली अनलाइन’ भनी आफैँले गरेको वाचा स्मरण गरे । ‘भात पकाउने ग्यासका लागि जनता दिनभर र रातभर, मध्यरातसम्म लाइनमा बसेको दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ,’ उनले भने ।
उनले ग्यासको अभाव देशैभर रहेको बताए । उनले भने,‘प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ कि छैन ? यदि कृतिम अभाव सिर्जना भएको हो भने सरकारले भनेजस्तै ग्यास ह्वारह्वारती आएर पनि कालोबजारी भएको हो भने ती कालोबजारी गर्नेहरूलाई कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ दुईतिहाइको सरकारलाई ? ”




प्रतिक्रिया