आठ दल मिलेर ‘अग्रगामी मोर्चा’ घोषणा,अवधारणा पत्र सार्वजनिक


काठमाडौं । विभिन्न ८ दलले संयुक्त रूपमा ‘‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्। आज काठमाडौं ब्यांक्वेट थापागाउँमा आयोजित कार्यक्रमबाट मोर्चाको घोषणा गरिएको हो।

जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खुम्बुवान राष्ट्रिय मोर्चाले ‘अग्रगामी मोर्चा’ गठन गरेका हुन् ।

घोषणा कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले अवधारणा पत्र सार्वजनिक गरेका छन् ।अवधारणा पत्रमा लोकतान्त्रिक, प्रगतिशील, सामाजिक लोकतान्त्रिक, क्रान्तिकारी, श्रमिक, समाजवादी तथा समावेशी राजनीतिक शक्तिलाई एकताबद्ध गर्ने प्रतिबद्धता जनाइएको छ ।

अवधारणा पत्रमा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।


राजनीतिक सत्ताको अत्यधिक केन्द्रीकरण, सर्वसत्तावाद र अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय र मानव अधिकार सुनिश्चित गर्ने मोर्चाले लक्ष्य लिएको छ ।