भाडा तिर्दा पनि खुलाएन रिपोर्टर्स क्लब,सञ्चालक धमलाले गराए सरकारको ध्यानाकर्षण !


काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका सञ्चालक तथा अध्यक्ष ऋषि धमलाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

शनिबार रिपोर्टर्स क्लब बाहिर आयोजित पत्रकार सम्मेलनमा धमलाले सम्झौताअनुसारको भाडा रकम रु. ३८ हजार ७ सय २१ समाज कल्याण परिषद्लाई तिरेको एक महिना बितिसक्दा पनि क्लबको ताला नखोलिएको बताए ।

धमलाले रिपोर्टर्स क्लबले नेपालको लोकतान्त्रिक आन्दोलन तथा गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । राजाको शासनकालमा समेत क्लब बन्द नभएको उल्लेख गर्दै उनले अहिले भने क्लब बन्द हुनुपर्ने अवस्था आउनु दुःखद् भएको बताए ।

उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति आफू सकारात्मक रहेको पनि स्पष्ट पारे । काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि आफूले बालेनलाई साथ दिएको र अहिले प्रधानमन्त्री बनेपछि पनि भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने अभियानमा पूर्ण साथ रहेको धमलाको भनाइ थियो ।

‘बालेनजी मेयर हुँदा पनि साथ दिएँ, आज प्रधानमन्त्री हुँदा पनि भ्रष्टाचारीलाई कारबाही गर्न र सुशासन कायम गर्न मेरो पूरा साथ छ,’ धमलाले भने, ‘तर आज जनताको आवाज बुलन्द गर्ने रिपोर्टर्स क्लब नै बन्द छ ।´

उनले रिपोर्टर्स क्लबले विभिन्न आन्दोलन तथा राजनीतिक घटनाक्रममा नागरिकको आवाज सम्बन्धित निकाय र जनतामाझ पुर्‍याउने काम गर्दै आएको बताए ।

जेनजी आन्दोलनका क्रममा वर्तमान गृहमन्त्री सुधन गुरुङसहितका जेनजी अभियन्ताहरूलाई समेत रिपोर्टर्स क्लबले आफ्ना माग, धारणा र आवाज जनतामाझ पुर्‍याउन महत्वपूर्ण सहयोग गरेको धमलाले स्मरण गरे ।

कोरोना महामारीका क्रममा क्लब दुई महिनासम्म बन्द हुँदा समेत सरकारले भाडा तिर्न नपर्ने भनिए पनि आफूहरूले सम्झौताअनुसार भाडा तिरेको धमलाले बताए । ‘कोरोनाको समयमा दुई महिना क्लब बन्द भयो । सरकारले भाडा तिर्नुपर्दैन भनेको थियो, तर हामीले भाडा तिर्‍यौँ,’ उनले भने ।

उनले रिपोर्टर्स क्लबलाई तत्काल सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्दै क्लब बन्द हुँदा पत्रकार, सञ्चारकर्मी र जनताको आवाज अभिव्यक्त गर्ने एउटा महत्वपूर्ण सार्वजनिक थलो प्रभावित भएको बताए ।

राजनीतिज्ञ डा. गोपीलाल न्यौपाने

त्यस्तै, अर्थविद् तथा राजनीतिज्ञ डा. गोपीलाल न्यौपानेले सम्झौताअनुसार भाडा तिरिसकेपछि रिपोर्टर्स क्लब खोल्नुपर्ने बताए । उनले भाडा नपाएको भए कति महिनाको भाडा बाँकी हो भन्ने विषय स्पष्ट रूपमा खोजिनुपर्ने धारणा राखे ।

सम्झौताअनुसार भाडा तिरिसक्दा पनि सरकारले रिपोर्टर्स क्लब नखोल्नु प्रतिशोधपूर्ण व्यवहार भएको उनको टिप्पणी थियो । उनले रिपोर्टर्स क्लबलाई एउटा सार्वजनिक आवाजका रूपमा व्याख्या गर्दै लोकतन्त्र निर्माणमा शक्तिशाली भूमिका खेलेर स्थापित भएको महत्वपूर्ण सञ्चार संस्था भएको बताए ।

सुशासन अभियन्ता रञ्जन खनाल

त्यस्तै, सुशासन अभियन्ता रञ्जन खनालले निरंकुश शासनका समयमा समेत बन्द नभएको रिपोर्टर्स क्लब अहिले बन्द हुनु दुःखद भएको बताए । लोकतन्त्रमा सरकारले सञ्चारमाध्यमप्रति गरेको व्यवहार उचित नभएको उनको टिप्पणी थियो ।

‘मिडियाले भाडा तिरेको छैन भने मिनाहा गर्नुपर्थ्यो । तर भाडा तिरेको एक महिना बितिसक्दा पनि रिपोर्टर्स क्लब नखोलिनु दुःखद् हो,’ खनालले भने ।

वर्तमान सरकार निर्माणमा आफूहरूको समेत साथ र समर्थन रहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अघिल्लो सरकारले अन्याय गरेको भन्दै आफूहरूले माइतीघरमा पुगेर आन्दोलन गरेको र लामिछाने हिरासतमा रहेका बेला कास्की पुगेर भेटेको पनि उनले स्मरण गरे ।

खनालले रिपोर्टर्स क्लबमा लगाएको ताला तत्काल खोलिदिन सरकारसँग आग्रह गरे ।

यसैबीच, रिपोर्टर्स क्लबसँगै बन्द गरिएको भृकुटीमण्डपका अन्य व्यवसायी तथा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयका सञ्चालकहरूले समेत समाज कल्याण परिषद्ले एकलौटी रूपमा भाडा वृद्धि गरेको गुनासो गरेका छन् । उनीहरूले भाडा वृद्धि प्रक्रियामा आफूहरूमाथि अन्याय भएको गुनासो गरे ।