देश विधिअनुसार होइन मौखिक आदेशमा संचालन भइरहेको छ : सीके राउत


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न राजनीतिक दल र समूह मिलेर गठन गरिएको ‘अग्रगामी मोर्चा’ सत्ता प्राप्तिका लागि नभएको बताएका छन् ।

शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा अध्यक्ष राउतले संविधानवाद, संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि मोर्चा गठन गरिएको बताएका हुन् ।

देशमा राजनीतिक दल र नेतृत्वप्रति जनताको निराशा बढिरहेका बेला नयाँ राजनीतिक मोर्चाको गठन आवश्यक परेको उनले बताए । ‘हामी यहाँ संविधानवाद चाहन्छौं । देशलाई संविधान अनुसार चलोस्, विधिसम्मत तरिकाले चलोस्, ल एन्ड अर्डरमा चलोस् । कसैको मौखिक कानुन अनुसार होइन, संविधान अनुसार चलोस् भन्ने कुरा, भन्ने प्रयोजन, भन्ने उद्देश्य राखेर नै हामी यो अग्रगामी मोर्चा यहाँ गठन गरेका छौं,’ राउतले भने ।

अराजकतालाई परास्त गरेर देशलाई संविधानवादमा संचालन गर्न लोकतान्त्रिक, सामाजिक लोकतान्त्रिक, क्रान्तिकारी र समाजवादी धारका शक्तिहरूलाई समेटेर अग्रगामी मोर्चा गठन गरिएको उनको भनाइ थियो ।

देश संविधान र विधिअनुसार सञ्चालन हुनुपर्नेमा मौखिक आदेश वा मनोमानी रुपमा संचालन भइरहेको उनले आरोप लगाए ।