रास्वपा सांसद हरि ढकाल भन्छन्- सिंहदरबारको नाम फेरिनुपर्थ्थो


काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सिंहदरबारको नाम फेरिनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा सिंह नभएकाले सिंहदरबार नाम उपयुक्त नभएको धारणा राखे ।

उनले सिंहदरबारको नाम अनामनगर दरबार राखिनुपर्ने बताए । ‘परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दैगर्दा त्यसलाई ‘अनामनगर दरबार’ राख्दिएको भए हुन्थ्यो होला । हामीसँग सिंह नै छैन, त्यसको नाम चाहिँ सिंहदरबार नै छ । र त्यसको केही हाउभाउ, भावभङ्गीहरु त्यो भाषा जस्तै छ । त्यो चिर्न पर्ने छ,’ उनले भने ।

उनले मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा धारणा राख्दै देश एकै पटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने बताए । अहिलेको आवश्यकता एक अर्कालाई दोषारोपण गर्नुभन्दा नागरिकमा आशा र विश्वास जगाउने खालका बहस र पैरवी गर्नु रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री बालेन्द्र साहले शुक्रबार राति लेखेको स्टाटसलाई लक्षित गर्दै ढकालले भने– प्रधानमन्त्रीज्यूले हिजो एक्लै भन्नुभएको छ क्यारे, एक्लै होइन, हाम्रो यो कार्यकालमा सबैभन्दा ठुलो चिज विश्वास जगाउनु पर्नेछ । एकैचोटी धनी भइँदैन । एकैचोटी देश धनी बन्दैन । एकैचोटी सुशासन आउँदैन ।’