सरकारले प्रतिशोध साधेर रिपोर्टर्स क्लब बन्द गरायो : प्रा. डा. सुरेन्द्र केसी


काठमाडौं । प्राध्यापक डा. सुरेन्द्र केसीले रिपोर्टर्स क्लब नेपाल बन्द गरिनु सरकारको प्रतिशोधपूर्ण कदम भएको दाबी गर्दै यसलाई तत्काल पुनः सञ्चालनमा ल्याउन माग गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले सम्झौताअनुसारको बक्यौता तिर्दा पनि समाज कल्याण परिषद्ले भृकुटीमण्डपमा ताला लगाएको ११८ औँ दिनमा बोल्दै प्रा. डा. केसी उक्त कुरा बताएका हुन् ।

क्लब बन्द हुँदा आम पत्रकार, नागरिक तथा बौद्धिक वर्गको एउटा साझा मञ्च गुमेको बताउँदै डा. केसीले यसलाई यथाशीघ्र सञ्चालन गरिनुपर्ने बताएका हुन्।
‘पवित्र कामको लागि आउँदा पनि पहिले नर्क जस्तो लाग्थ्यो, तर आज त नर्कको पनि वैतरणी नदी जस्तो भएको छ,’ देशको राजधानीको मुटु मानिने भृकुटीमण्डपको बन्द रिपोर्टर्स क्लब आसपासको स्थितिप्रति टिप्पणी गर्दै उनले भने, ‘देशको मुटुमै रहेको क्लब बन्द भएपछि यस्तो स्थिति आएको हो। बक्यौता वा हिसाबकिताब केही बाँकी भए राफसाफ गरेर क्लबको सञ्चालन पुनः शुरु गरिनुपर्छ।’

रिपोर्टर्स क्लब कुनै व्यापारिक नभई गैरनाफामूलक र सामाजिक संस्था भएको उल्लेख गर्दै प्रा. डा. केसीले भुक्तानीमा विलम्ब हुनु क्लबको कमजोरी भए पनि सरकारको नियत सफा नरहेको आरोप लगाए। सत्तामा आउनासाथ सरकारले ‘बाह्र भाइ’को नाममा सञ्चार क्षेत्रलाई तारो बनाएको र सोही विपरीत मानसिकताका कारण प्रतिशोध साधेर क्लब बन्द गराएको उनको भनाइ छ।

क्लब र यसका अध्यक्ष ऋषि धमलाले सधैँ पत्रकार तथा नागरिक समाजलाई अभिभावकत्व र स्नेह प्रदान गरेको स्मरण गर्दै डा. केसीले आफ्नो व्यक्तिगत अनुभवसमेत सेयर गरे। ‘मलाई विश्वविद्यालयले लखेट्दासमेत यो क्लबले मलाई अभिव्यक्ति दिने स्थान दियो,’ उनले भने, ‘गुणग्राही र सोझा व्यक्तिहरू राजनीतिमा टिक्दैनन् भनेर मैले ऋषि धमलाजीलाई चुनावअघि नै सचेत गराएको थिएँ।’

उनले क्लब पत्रकार र सर्वसाधारण सबैको साझा आवाज उठाउने थलो भएकाले यसलाई पूर्वाग्रह राखेर बन्द गरिनु लोकतान्त्रिक मूल्यमान्यताविपरीत हुने बताएका छन् ।