कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा


काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ ।

यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रुपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको हो । देउवा पक्षीय समूह १४ औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।

सो समूहका संयोजक डा शशाङ्क कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुने बताए । देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्ने र त्यसका लागि ५६ जिल्लामा निर्वाचन संयोजक तोकिएको जनाएको छ ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने पक्षमा रहेको सो समूहको मागलाई बेवास्ता गर्दै असोज ३ गतेबाट प्रतिनिधि छनोट प्रक्रियामा होमिएको संस्थापन पक्ष अहिले १५औँ महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।

यसैबीच, आसन्न महाधिवेशनका क्रममा देउवा समूहद्वारा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाएको नेता डा प्रकाशशरण महतले जानकारी दिए ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोेखरेललाई क्रियाशील सदस्यताको विवरण शनिबार हस्तान्तरण गरेको जानकारी दिए ।

संयोजक पौडेलले यही असोज ९ गतेसम्म वितरण र नवीकरण गरिएका क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई बुझाइएको र कूल सदस्य सङ्ख्या सात लाख ८३ हजार ८३६ रहेको जानकारी दिए ।

उनले भने, “यसमध्ये पाँच लाख ७३ हजार ३६९ पुरानो सदस्यता नवीकरण र दुई लाख १० हजार ६६७ नयाँ क्रियाशील सदस्यता रहेको छ ।”

संयोजक पौडेलले भने, “पहिला पार्टीेले महामन्त्री गगन थापालाई यो जिम्मेवारी दिएकोमा समयमै क्रियाशील सदस्यता नटुङ्गिदा समस्या आएको थियो, तर अहिले शेरबहादुर देउवाले मलाई जिम्मेवारी दिएपछि यसलाई समयमै टुङ्गो लगाएर हस्तान्तरण पनि गरिसकेको छु । अब समयमै महाधिवेशन हुन्छ, यसमा कुनै समस्या छैन ।”

यसैगरी, देउवा समूहका नेता डा महतले भने, “हामी पार्टीभित्र एकताको महाधिवेशन गर्न चाहन्थ्यौँ, यसका लागि अन्तिमसम्म प्रयास पनि गरेको हौँ र सबै ढोका खुला राखेर कोसिस पनि गरेका हौँ । तर सम्भव नभएपछि आपत्कालीन मोडमा तयारीमा लागेका छौँ ।”