‘रिपोर्टर्स क्लब भुइँमान्छेको संस्था हो, सधैँ बन्द रहन सक्दैन’ : ऋषि धमला


काठमाडौँ । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल विगत तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका अध्यक्ष ऋषि धमलाले सरकारको ध्यानाकर्षण गराएका छन्। सम्झौताअनुसारको भाडा भुक्तानी गर्दासमेत क्लबमा लगाइएको ताला नखोलिएको भन्दै उनले तत्काल सञ्चालनको वातावरण बनाउन माग गरेका हुन्।

भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबपरिसर बाहिर प्रा. डा. सुरेन्द्र केसीसहितका विश्लेषकहरुसँगै उभिएर बोल्दै धमलाले समाज कल्याण परिषद्लाई सम्झौताअनुसारको भाडा बुझाएको एक महिना बितिसक्दा पनि ताला नखोलिएको गुनासो गरे। उनले आजै प्रधानमन्त्रीका सल्लाहकार असीम शाहलाई भेटेर क्लब पुन: सञ्चालनको वातावरण मिलाइदिन आग्रह गरेको समेत जानकारी दिए।

‘रिपोर्टर्स क्लब भूइँमान्छे र पीडितहरूको आवाज बुलन्द गर्ने संस्था हो, यो अब सधैँ बन्द रहन सक्दैन,’ धमलाले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलन र गणतन्त्र स्थापनामा क्लबले महत्त्वपूर्ण भूमिका खेलेको छ। निरंकुश राजाको शासनकालमा समेत बन्द नभएको क्लब अहिले बन्द हुनु अत्यन्तै दुःखद् हो।’

प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारप्रति आफू सकारात्मक रहेको स्पष्ट पार्दै धमलाले सुशासनको अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताए। ‘कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष शासन सत्ता चलाउन पाएका छैनन्, बालेन शाहको सरकारले पाँचै वर्ष सरकार चलाउन पाउनुपर्छ । भ्रष्टाचारीलाई कारबाही गर्ने र सुशासन कायम गर्ने सरकारको अभियानमा मेरो साथ छ ।,’ उनले थपे, ‘तर नागरिकको आवाज उठाउने मुख्य थलो नै यसरी बन्द हुनु भएन।’

विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनका क्रममा क्लबले नागरिकका माग सरोकारवालासम्म पुर्‍याउन पुलको काम गरेको स्मरण गराउँदै उनले जेनजी आन्दोलनका क्रममा वर्तमान गृहमन्त्री सुधन गुरुङसहितका अभियन्ताहरूलाई आफ्ना धारणा राख्न क्लबले नै मञ्च दिएको दाबी गरे।

यस्तै, कोरोना महामारीका बेला सरकारले भाडा छुट दिने घोषणा गरे पनि आफूहरूले सम्झौताअनुसारको पूरै रकम बुझाएको उनले उल्लेख गरे। लामो समयदेखि क्लब बन्द हुँदा सञ्चारकर्मीका साथै आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक प्रभावित भएको भन्दै धमलाले यथाशीघ्र ताला खोलेर बहसको वातावरण बनाउन सरकारसँग जोडदार माग गरेका छन्।