कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु


महेन्द्रनगर । कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० यता हालसम्म सवारी दुर्घटनामा परी १५४ जनाले ज्यान गुमाउनुका साथै एक हजार ७८४ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक बलेन्द्र नाथले सवारी दुर्घटनामा बर्सेनि स्थानीयले ज्यान गुमाइरहेका भन्दै पूर्व-पश्चिम राजमार्गमा बढी दुर्घटना भइरहेकाले सवारी चलाउँदा सचेत हुनुपर्नेमा जोड दिए । ‘ट्राफिक जानकारीसहित सचेतना पनि फैलाइरहेकै छौँ,’ उनले भने, ‘मोटरसाइकल र स्कुटर दुर्घटनामा बढीले ज्यान गुमाएका देखिन्छ ।’ उनले ठूला सवारीसाधन दुर्घटना न्यून रहे पनि साना सवारीको दुर्घटना बढी हुने गरेको बताए । 

प्रहरी निरीक्षक नाथले पछिल्लो सडक जाँच बढाउँदा मादक पदार्थ सेवक गरेर सवारी चलाउने सङ्ख्यामा कमी आएको बताए । ‘दैनिकजसो राति १२ः०० बजेसम्म जाँच हुन्छ,’ उनले भने, ‘बजार क्षेत्रबाट राजमार्गका विभिन्न स्थानमा जाँच नियमित हुन्छ ।’ उनले तीव्र गतिका कारण अधकिांश दुर्घटना हुने गरेका जानकारी दिए । 

कञ्चनपुरमा आव २०७९/८० मा सवारी दुर्घटनाबाट ४३ जनाको मृत्यु र ५९ जना घाइते भएका ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०८०/८१ मा ३२ जनाको मृत्यु र ७४ घाइते, आव २०८१/८२ मा ३८ को मत्यु र ७७३ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ ।

गत वर्ष २०८२/८३ मा कञ्चनपुरका ५६४ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक नाथको भनाइ छ । गत आवमा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु र ८७८ जना घाइते भएका प्रहरी निरीक्षक नाथले जानकारी दिए । बितेको तीन आवमा यहाँ ३५ हजार ८६१ सवारीलाई ट्राफिक नियम उल्लङ्घन गरेका भन्दै कारबाही गरिएको छ ।

गत आवमा मात्रै ट्राफिक कारबाहीबाट कञ्चनपुरमा रु ५९ लाख १४ हजार ५०० राजस्व सङ्कलन भएको थियो । रासस